दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Organization) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । क्षेत्रीय कार्यालयहरू तथा फिल्ड कार्यालयहरू विभिन्न मुलुकमा छन् । युुनेस्कोको नेपाल पनि सदस्य राष्ट्र हो । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । यसको एउटा छुट्टै सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ ।
युनेस्कोका प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशमा राष्ट्रिय आयोग गठन गरी सोही आयोगमार्फत सरकार र युनेस्को बिच सञ्चार तथा समन्वय गर्ने गराउने, युनेस्कोबाट राष्ट्रले प्राप्त गर्ने सहयोगमा अभिवृद्धि गर्ने गराउने र युनेस्को सम्वद्ध कार्यक्रम कार्यान्वयन गर्ने गर्दछन् । नेपाल पनि उक्त सङ्गठनको सदस्य राष्ट्र भएकोले यसै सन्दर्भमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको स्थापना भएको हो । युनेस्कोको प्रधान कार्यालयसँग समन्वय गरी कार्यलाई सहजता प्रदान गर्न पेरिसस्थित नेपाली राजदूतावासलाई युनेस्कोका निमत्त नेपाल राष्ट्रिय आयोगका स्थायी प्रतिनिधिको रूपमा कार्य गर्न तोकिएको छ । प्रत्येक २–२ वर्षमा युनेस्कोको महासभा युनेस्कोको प्रधान कार्यालय पेरिसमा सञ्चालन हुने गर्दछ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको उद्देश्य
शिक्षा, विज्ञान र संस्कृतिको माध्यमद्वारा संयुक्त राष्ट्र संघको घोषणा पत्रमा उल्लेखित उद्देश्य अनुरुप युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको उद्देश्य निम्न अनुसार छन् :
• शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक कार्यक्रमहरुको माध्यमद्वारा नेपाली जनताको आर्थिक, सामाजिक एवम् बौद्धिक विकासमा सहयोग पुयाउनु,
• शिक्षा, संस्कृति, विज्ञान, आमसञ्चार तथा सामाजिक क्षेत्रमा अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सभा, सम्मेलन आदि गर्ने गराउने,
• आफ्नो देशको गौरवमय संस्कृतिको वैभवलाई विश्वका अन्य राष्ट्रहरुमा परिचित गर्ने गराउने,
• युनेस्कोको उद्देश्य एवम् कार्यक्रमहरुको प्रचार प्रसार गरी सर्वसाधारण समक्ष पुयाउने,
• अन्तर्राष्ट्रिय एवम् क्षेत्रीयस्तरमा युनेस्कोबाट सञ्चालित कार्यक्रममा सघाउ पुयाउने,
• युनेस्कोको सहयोगमा सञ्चालित राष्ट्रिय तथा क्षेत्रीय विकास आयोजना एवम् कार्यक्रमहरुको कार्यान्वयनमा सहयोग पुयाउने,
• आयोग अन्तरगत गठन हुने विभिन्न विषय तथा विशेष समिति, युनेस्को क्लबहरूको राष्ट्रिय महासंघ र युनेस्को सम्बद्ध विद्यालय परियोजना सञ्जाल (ASPnet) हरूको समन्वय र सहकार्यमा सहयोग पुयाउने ।